काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा भएको छ । आइतवार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम सफा रहेको र आइतवार राति पूर्वमा सामान्य बदली हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि मौसम बदली भएको थियो । गएको शुक्रवार र शनिवार उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । शनिवार काठमाण्डौ उपत्यका वरपरका चन्द्रागिरि, फुल्चोकीसहित मकवानपुरको दामन र पालुङ, दोलखाको कालिञ्चोकमा पनि हिउँ परेको थियो ।
हिमपातपछि काठमाण्डौसहित धेरैजसो ठाउँमा चिसो बढेको छ । आइतवार बिहान काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको र उच्चतम तापक्रम १८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् श्रेष्ठले बताए ।
आइतवार चिसो भएपनि तापक्रम बिस्तारै बढ्दै जाने महाशाखाका अर्का मौसमविद् सजिना शाक्यले जानकारी दिए । बाक्लो हिमपात भएका र तराईका केही जिल्लामा अझै केही दिन चिसो हुनेछ । मौसमविद् शाक्यका अनुसार अब केही दिन काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया