शनिबार, माघ १२, २०८१

कोरोना निको भइसकेकाले पनि लगाउनुपर्छ खोप

लक्ष्मी चौलागाई २०७७ माघ २६ गते ११:०६

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान सकिसकेको छ । सरकारले दोस्रो चरणमा भोली, सोमबारबाट कुटनीतिक नियोगका कर्मचारी तथा पत्रकारहरुलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको छ।

Advertisement

खोप अभियान चलिरहँदा कोरोना संक्रमण निको भएकाले कोरोना विरुद्धको खोप लगाउनु पर्छ कि पर्देन भन्ने जिज्ञासा आम मानिसहरुको हुन सक्छ । उक्त जिज्ञासाको समाधानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पुग्नेहरुको संख्या ठूलै रहेको प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ता बताउँछन् । एन्टीबडी परीक्षणबाट पहिला कोरोना संक्रमण भए नभएको र शरीरमा कोरोनाविरुद्धको लड्ने क्षमता विकास भएको छ कि छैन भन्नेबारे थाहा पाउन सकिने प्रवक्ता गुप्ता बताउँछन् ।

उक्त परीक्षणका क्रममा कोरोनासँग लड्ने क्षमता प्रशस्त देखिएमा खोप लगाउनका लागि हतार गर्नुनपर्ने उनको तर्क छ । तर एकपटक कोरोना संक्रमण भएर निको भइसकेकाहरुले भने कोरोनाको खोप लगाउनुपर्ने उनी बताउँछन् ।कोरोना खोपले सबै प्रजातीको कोरोना भाइरसबाट बचाउन सक्ने भएकोले एकपटक कोरोनाको संक्रमण भइसकेकाहरुले यस विरुद्धको खोप लगाउनु परेको डा।गुप्ताको तर्क छ । जनस्वास्थ्य प्रयोगशालामा एन्टीबडी परीक्षण गर्नेमध्ये कोरोना संक्रमण भएर निको भएको ८ –९ महिनापछि परीक्षणमा आउनेहरुमा पनि पर्याप्त मात्रामा एन्टीबडी पाइएको छ ।

एन्टीबडी परीक्षणका ५ कारणहरु

कोरोना भाइरसको सबै एन्टीबडी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरिरहेको छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दुई वटा एन्टीबडीहरुको परीक्षण हुने गर्छ । जसमा आइजीजी र आइजीएम परीक्षण पर्छन् ।

मानिसलाई कोरोना लागिसकेपछि त्यसको विरुद्धमा हाम्रो शरीरले बनाउने एन्टीबडी हो । हाम्रो शरीरले जति मात्रामा एन्टीबडी बनाउन सक्यो हाम्रो शरीरका लागि त्यो राम्रो मानिन्छ ।
मानव शरीरमा एन्टीबडी परीक्षण गर्नुका विभिन्न कारणमध्ये एन्टीबडी परीक्षण गरेमा विगतमा कोरोना लागेको थियो कि थिएन भन्ने पत्ता लाग्छ । कतिपय मानिसहरुमा लक्षण बिना नै कोरोना लाग्ने भएकोले विगतमा कोरोना भए नभएको एन्टीबडी परीक्षण मार्फत् नै पत्ता लाग्छ ।
कोरोनाको खोप लगाउनु अगाडि शरीरमा एन्टीबडीको मात्रा कति छ भन्ने पत्ता लगाउन सकिन्छ । एन्टीबडी परीक्षणबाट शरीरमा एन्टीबडीको मात्रा बढी देखिएमा कोरोनाको खोप लगाउनका लागि हतार गर्नुपर्दैन ।

कोरोना खोपले पनि शरीरमा एन्टीबडी नै बनाउने हो । कोरोना खोप लगाएर बन्ने एन्टीबडी कृत्रिम एन्टीबडी हो भने शरीरले आफै बनाउने एन्टीबडी प्राकृतिक एन्टीबडी हो ।
कतिपय कोरोना लागेका व्यक्तिहरुमा लक्षण देखिए पनि परीक्षणका क्रममा भने नेगेटिभ आउने गरेको पाइएको छ । त्यस्तो व्यक्तिहरुमा कोरोना छ कि छैन एन्टीबडी परीक्षण गरेर थाहा पाउन सकिन्छ ।

अहिलेसम्म एन्टीबडी परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा एन्टीबडी बनिसकेको देखिएको छ । यसले उहाँहरुमध्ये कतिपयलाई विगतमा कोरोना संक्रमण भएको देखाउँछ । कोरोनाको खोप लगाउनु अगाडिको शरीरमा रहेको एन्टीबडीको अवस्था तथा खोप लिइसकेपश्चात् शरीरको एन्टीबडीको अवस्थाबारे जान्नका लागि यस परीक्षण आवश्यक छ । एन्टीबडी परीक्षणले शरीरमा कोरोना भ्याक्सिनको प्रभावकारीता बारे थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया