पहिलो चरणमा चार र दोस्रोमा तीन प्रदेशमा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गराउने प्रदेश छुट्याएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएर आगामी १७ र २७ गते निर्वाचन गर्ने तय गरेका थिए । त्यसअनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश छुट्याएको हो ।
पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
उनका अनुसार दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय गरिएको छ । प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।
कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो । सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । त्यस्तै, यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ ।
प्रतिक्रिया