आइतबार, वैशाख ७, २०८२

तेल र गेडागुडीको भाउ ह्वात्तै बढ्यो, एक महिनामै मूल्य वृद्धि १ प्रतिशतले उकालो लाग्यो

नेपालखोज २०७७ माघ २७ गते १२:२२

काठमाडौं । तेल तथा गेडागुडीको भाउ अहिले एक्कासी ह्वात्तै बढेको छ । तरकारीको मूल्यमा ह्रास आएपनि तेल तथा गेडागुडीको भाउ बढेकाले महंगी पुस महिनामा मात्रै एक प्रतिशतले उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको देशको समग्र वित्तीय स्थिति सम्बन्धी ६ महिने प्रतिवेदनमा मंसिरको तुलनामा पुसमा महंगी एक प्रतिशतले बढेको देखिएको हो ।

गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति २ दशमलव नौ तीन रहेकामा अहिले यस्तो महंगी बढेर ३ दशमलव ५६ पुगेको छ । यसरी हेर्दा महंगी एक महिनामै झण्डै एक प्रतिशतले उकालो लागेको छ ।

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति २.९९ प्रतिशत रहेको छ । गत वर्षको पुसको तुलनामा यो पुसमा घ्यू तथा तेलको मूल्य १७ दशमलव शून्य एक प्रतिशतले बढेको छ । त्यस्तै गेडागुडीको मूल्य पनि गत वर्षको तुलनामा ११ दशमव ४८ र मासु तथा माछाको भाउ १०.६८ प्रतिशतले बढेको देखिएको छ ।

त्यस्तै क्षेत्रगत रुपमा हेर्ने हो भने चाहिँ सबैभन्दा बढि काठमाडौं उपत्यकामा महंगी बढेको छ । काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

महंगी जुन अनुपातमा बढेको छ, त्यहि अनुपातमा श्रमिकको आम्दानी भने बढ्न सकेको छैन । राष्ट्र बैंककै आकडालाई आधार मान्ने हो भने पनि २०७७ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७२ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.०४ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया