बिहीबार, असार १९, २०८२

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

नेपालखोज २०७७ माघ २७ गते १७:२८

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए। “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उनले भने, “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ ।”

कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । “सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ”, प्रवक्ता पन्थीले भने ।

योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भएपनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा यो एपको महत्व बढ्ने उनले बताए । “अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम सङ्कलन गर्न मोबाइल एपले सहज गर्नेछ”, उनले भने, “एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।” हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् ।

एक लाख ८८ हजार कोषमा सूचीकृत
गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वागमती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

कोषमा हालसम्म रु चार अर्ब पाँच करोड ६६ लाख योगदानरकम सङ्कलन भएको छ । तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

प्रतिक्रिया