बिहीबार, मंसिर २७, २०८१

महासंघको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्रीबीच भेटवार्ता

नेपालखोज २०७७ माघ २९ गते १५:३८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकार समक्ष माग गरेको छ ।

महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठी समक्ष भेटी उक्त माग गरेको हो । भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, ‘कोरोनाका कारण निजी क्षेत्रपनि आक्रान्त भैरहेकाले महासंघसंग आवद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु पर्छ ।’

साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत माग गरे । साथै पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहुँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एक रुपकता ल्याउन सो अवसरमा आग्रह गरियो ।

कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन शुरु गरिएकोले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने बताए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिएका छन् । भेटवार्तामा महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सहसभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया