कन्सोर्टियम नेपालद्वारा राष्ट्रिय बाल अधिकार परिषद्लाई सुझाव पत्र हस्तान्तरण

काठमाडौं । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी दश वर्षीय राष्ट्रिय कार्ययोजना तथा बालबालिका सम्बन्धी नीतिमा संघ संस्था तथा नागरिक संगठनहरूसँग सुझाव मागगरे अनुरूप राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेललाई बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल)को तर्फबाट औपचारिक रूपमा सुझाव पत्र हस्तान्तरण गरेको छ । बालअधिकार महासन्धि अनरुप बाल अधिकारका मुख्य चारवटा सवालहरू मध्ये एक, बाल सहभागिताको क्षेत्रमा विशेष रुपमा क्रियाशिल कन्सोर्टियम नेपालको तर्फबाट उक्त सुझावको लागि बाल अधिकार विज्ञ, कन्सोर्टियम नेपालका कार्यसमिति सदस्य, प्रदेश संयोजकहरू तथा सातै प्रदेशका बालबालिकाहरुसँग परामर्श समेत गरेको थियो ।
कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाको नेतृत्वमा बुझाइएको उक्त सुझाव पत्रमा बाल सहभागीताका लागी केन्द्रित रही आगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण सवालहरुमा राष्ट्रिय बाल अधिकार परिषद्को ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्रको प्रस्तुती कन्सोर्टियम नेपालका महासचिव सन्तोष महर्जनले गरेका थिए भने उपाध्यक्ष मोहन दंगाल, सचिव प्रदिप लामिछाने, कार्यक्रम संयोजक गौरब के.सी. र सहायक कार्यक्रम अधिकृत अरज गौतमको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्का बोर्ड सदस्य विमला ज्ञावली तथा सुन्दर लामिछानेको पनि उपस्थिति रहेको थियो भने कन्सोर्टियम नेपालले बुझाएको सुझाव सान्दर्भिक रहेको र आगामी दिनमा बन्ने राष्ट्रिय कार्ययोजनामा बाल सहभागिताका महत्वपूर्ण कुराहरु नछुट्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यकारी निर्देशक धरेलले बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुसँग सहकार्य गरी राष्ट्रिय कार्ययोजना तथा बालबालिका सम्बन्धी राष्ट्रिय नीतिका लागि कार्यक्रमहरु संचालन गरिने बताउनु भएको छ । कार्यकारी निर्देशक धरेलले कन्सोर्टियम नेपालले बुझाएकोे सुझाव पत्रमा समावेश भएका विषयहरुमा आन्तरिक छलफल गरी सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया