विवाद निरूपण प्रक्रिया अगाडि नबढाएको भन्दै निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आधिकारिकता विवादको प्रक्रिया अघि नबढाएको भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेको छ । प्रचण्ड–नेपाल समूहले बिहीबार आयोगलाई पत्र पठाउँदै विवाद निरूपण प्रक्रियाको ढिलाइबारे जानकारी मागेको हो ।
आयोगसँग मूलतः तीनवटा प्रश्न गरिएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।’हामीले आयोगसँग मुख्यतः तीनवटा प्रश्नको जवाफ मागेका छौँ । हामीले माघ २० गते दफा ४४ अनुसारको आधिकारिकता दाबी गर्यौँ । त्यसको प्रक्रिया किन अघि बढेन भनेर सोध्यौँ,’ उनले भने ।
त्यस्तै, निर्वाचनका लागि सरकारसँग स्थान (समूह) छुट्ट्याउने अधिकार नभएको र उक्त निर्णय गर्दा आयोग मौन भएको भन्दै प्रश्न गरेको पोखरेलले बताए । मन्त्रिपरिषद्को यही माघ २६ गते बसेको बैठकले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको हो । यस्तै, वैशाख २७ गते दोस्रो चरणमा प्रदेश नम्बर–१, वाग्मती र सुदूरपश्चिम प्रदेश गरी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले संशोधन गरेको नियमावलीको प्रति पनि माग गरेको पोखरेलले बताए । आयोगले भने आधिकारिकता विवाद निरूपणबारे काम भइरहेको बताएको छ ।
प्रतिक्रिया