मंगलबार, मंसिर २५, २०८१

फागुन २३ देखि वृद्धवृद्धालाई खोप

नेपालखोज २०७७ माघ ३० गते १४:४३

काठमाडौं । सरकारले २३ फागुनदेखि वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । भारतबाट थप खोप आउने भएपनि सरकारले फागुन २३ देखि वृद्धवृद्धालाई पनि लगाउने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘खोप आउने सुनिश्चितता भएकाले यस्तो तयारी गरेको हौं’ उनले भने, ‘हामी अन्तिम चरणको तयारीमा छौं ।’

भारतले १० लाख डोज खोप अनुदान दिएपछि नेपालमा १४ माघदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ ।

सरकार आफैंले बनाएको प्राथमिकता सूचीमा फ्रन्टलाइनर पछि जेष्ठ नागरिक थिए । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।

खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतमले बताए । ‘खोप धेरै उपलब्ध भएको भए पहिले वृद्धवृद्धा र दीर्घरोगीलाई नै दिन्थ्यौं । सीमित खोप लिएर समुदायमा जान नमिलेकाले यस्तो निर्णय गरेका हौँ’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘उपलब्ध खोप सेवा प्रदायक क्षेत्रमा दिँदा त्यहाँको सेवा सुचारु भइराख्छ भनेर यो निर्णय गरेका हौं ।’

प्रतिक्रिया