मलेसियामा मृत्यु हुने नेपाली श्रमिकका परिवारले आजीवन पेन्सन पाउने

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुने नेपाली श्रमिकका परिवारले आजीवन पेन्सन पाउने भएका छन् । श्रम स्वीकृति लिएर मलेसिया गएका श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृतकको परिवारले आजीवन पेन्सन पाउने भएका हुन् ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठका अनुसार मलेसिया सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा संस्था (सोक्सो) कार्यक्रमअन्तर्गत नेपाली श्रमिकले यस्तो सुविधा पाउने भएका हुन् ।
मलेसिया जाने नेपाली श्रमिकलाई पनि सोक्सोमा आबद्ध गराउन मलेसियास्थित सोक्सोले प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । सोक्सो प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषद्ले समेत पारित गरेको छ । त्यसैले केही दिनमा नै वैदेशिक रोजगार बोर्ड र सोक्सोबीच सम्झौता हुने उनले बताए । सम्भवतः आगामी फागुनदेखि नै नेपाली श्रमिक सोक्सोमा आबद्ध हुने उनको भनाइ छ ।
मलेसिया जाने नेपाली श्रमिकलाई मलेसियन रोजगारदाता कम्पनीले सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्नेछ । सामाजिक सुरक्षामा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १.६० प्रतिशतबराबर रकम जम्मा गर्नुपर्नेछ । यो रकम रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिकबाट भने कटाउन नपाउने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।
त्यसैले रोजगारदाता कम्पनीले श्रमिक लैजाने निश्चित भइसकेपछि सोक्सोमा श्रमिकको विवरण दर्ता गराउनुपर्नेछ । नेपाली श्रमिक सोक्सोमा आबद्ध हुन पाउने व्यवस्थाले मलेसियाको रोजगारी सुरक्षित बन्दै जाने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
प्रतिक्रिया