कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते
काठमाडौं । नेपाली कांग्रेसले फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाउने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
फागुन ५ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्नेछ ।पौडेलले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि सभापति देउवाले चासो नदिएपछि फागुन ५ गते केन्द्रीय कार्यालय सानेपामै जिल्ला सभापतिको भेला बोलाइएको थियो । जिल्ला सभापतिहरूलाई टेलिफोनमार्फत जानकारी गराइसकिएको थियो ।
“पार्टीको वैधानिकता सकिँदा पनि महाधिवेशन नहुने भयो । अब के गर्नेः भनेर सभापतिहरूको राय बुझ्ने कुरा छ,” पौडेलनिकट एक केन्द्रीय सदस्यले भेलाको एजेन्डा सुनाउँदै भने, “कांग्रेस केन्द्रीय समितिबाट प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्यौं । तर, सभापति देउवा पुनस्स्थापनाको पक्षमा देखिनुभएन । अब कसरी अगाडि जाने ? यी एजेन्डामा छलफल गर्ने तयारी छ ।”
५ गते केन्द्रीय समिति बैठक बोलाइए पनि पौडेल पक्षले भेला नरोक्ने जनाएको छ । फागुन ४ गते जिल्ला सभापतिसँग जुम मिटिङमार्फत धारणा बुझ्ने र सभापतिहरूको धारणा लिएर केन्द्रीय समिति बैठकमा जाने पौडेलको तयारी छ ।
बाह्रखरीसँग कुरा गर्दै सभापति देउवानिकट सह-महामन्त्री प्रकाशशरण महतले फागुन १२ः१३ मा मात्र बैठक बस्ने बताएका थिए । फागुन ७ देखि १० सम्म काठमाडौं मा १४औं महाधिवेशन गर्ने गत वर्षको पुष ११ गतेको केन्द्रिय समिति बैठकबाट घोषणा भएको थियो । आगामी १९ देखि कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल ५ वर्ष पूरा हुनेछ ।
प्रतिक्रिया