संविधान अनुसार नै संविधानको व्याख्या हुनुपर्छ : एमीकस क्युरी कार्की
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमीकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे संविधान अनुसार नै व्याख्या हुनुपर्ने बताएका छन् ।
उनले राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै किसिमको रहेको बताएका छन् ।
संवैधानिक इजलासलाई राय दिँदै उनले भने, ‘सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको आयो ।’
उनले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिएका छन् ।
उनले राज्यका निकायका कार्यक्षेत्रको संविधानसम्मत व्याख्या हुनुपर्ने पनि सुझाए । उनले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्थाअनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो ।
उनले भने, ‘जसले संविधान बनाए, जसले लागु गर्नुपर्ने थियो, अभ्यास गरे, उनीहरू संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हामीले बनाएको संविधान दुर्घटनामा पर्यो भनिरहेका छन् ।’
यो विषयको निर्क्योल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलाससामु रहेको पनि उनको भनाइ थियो ।
प्रतिक्रिया