प्रतिबद्धता पत्र बनाउन प्रचण्ड–माधव समूहले बनायो कार्यदल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने गृहकार्य थालेको छ । प्रचण्ड–नेपाल समूहले विगतमा भएका कमीकमजोरी, वर्तमान अवस्था र भविष्यको कार्ययोजनासहित प्रतिबद्धता पत्र जारी गर्न संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको छ । गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाल लगायत सदस्य छन् । ‘कार्यदल बनेको छ, अब यसले प्रतिबद्धतापत्र तयार पार्ने गरी छलफल अगाडि बढाउँदैछ’, वेदुराम भुसालले भने ।
नागरिक अगुवाहरुले आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिको लागि मात्रै होइन भन्ने स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् । त्यसकै आधारमा समूहले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया