आइतबार, वैशाख १६, २०८१

अर्को सूचना जारी नभएसम्मका लागि बागमती प्रदेशसभा बैठक स्थगित

नेपालखोज २०७७ फागुन ५ गते १०:४०

हेटौंडा । बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख सानकुमार श्रेष्ठले विशेष कारण देखाउँदै स्थगित गरेका हुन् ।

बुधबार बिहान ६ बजे ३५ मिनेटमा सूचना जारी गर्दै सभामुख श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी सांसदहरुलाई दिएका थिए ।

नेकपा प्रचण्ड–नेपाल समूहका ४५ जना सांसद्हरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै बागमती प्रदेशसभाको बैठक पेचिलो बनिरहेको छ ।

मंगलबार प्रचण्ड–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गरेका हुन् ।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

प्रतिक्रिया