पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर
वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ ।
बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले बताए।
ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले ती उद्योगलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको प्रमुख राउतले बताए ।
अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको छ । ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थको मुद्दा बढी रहेको छ । कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा सङ्कलन गरी परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाएको छ ।
त्यसैगरी कार्यालयले खाद्य उत्पादन गर्ने उद्योग तथा दाना उत्पादन गर्ने करीब एक सय उद्योगमा स्थलगत निरीक्षण गरेको छ । पर्सा र बारामा रहेका दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट देखिएकाले ती उद्योगमाथि निगरानी बढाएको प्राप्त समाचारमा जनाइएको छ ।
सो कार्यालयले हालसम्म आठपटक संयुक्त अनुगमन तथा १२० पटक एकल अनुगमन गरेको छ । पर्सा र बारामा १२ वटाभन्दा बढी डेरी उद्योग रहेको र ती उद्योगले पाउडर मिसाएर दूध बनाउने गरेको, नक्कली घ्यू उत्पादन गर्ने जानकारी आएकाले ती उद्योगमा निगरानी बढाएको छ ।
प्रतिक्रिया