केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन प्रचण्ड-माधव समूहको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै आफ्ना पक्षका केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर सङ्कलन गरिएको छ । बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिए । गएको पुस ५ मा भएको प्रतिनिधि सभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।
बैठकपछि प्रवक्ता श्रेष्ठले प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन गर्नु प्रधानमन्त्री ओलीको अराजनीतिक चरित्र भएको समेत टिप्पणी गरे ।
प्रतिक्रिया