शुक्रबार, मंसिर २८, २०८१

कुनै पनि हालतमा संविधान रक्षा गरी छाड्छौँ : प्रवक्ता श्रेष्ठ

नेपालखोज २०७७ फागुन ७ गते १८:२१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुन विपरीत दमनकारी क्रियाकलाप गरिराखेको बताए । यस्तो कदम केही समयका लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने, ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरीत गैर–कानुनी ढङ्गले ज्यादतीपूर्ण, बलमिच्याइँ, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाड्ने पनि बताए । उनले भने, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यस प्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौँ ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाइ गरेकोप्रति आफूहरू सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तर पनि ढिलोरचाँडो संविधान र कानुनअनुसार फैसला गर्ने विश्वास आफूहरूले गरेको उनको भनाइ छ । उनले भने, ‘निर्वाचन आयोगले ढिलाइ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौँ । तर पनि संवैधानिक अङ्गहरू सबैले संविधान र कानुनअनुसार ढिलोरचाँडो सही फैसाला गर्नेछन् भन्ने अपेक्षा गर्दछौँ ।’

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षासमेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको सङ्घर्षमा सत्तासीन गुटबाहेक सिङ्गो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताए । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढङ्गले निर्णय गर्ने विश्वास बैठकले गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया