बुधबार, वैशाख १२, २०८१

रातो मासुको तुलनामा सेतो मासु स्वस्थ्यको लागि अत्यन्त उपयोगी

संगम ढकाल २०७७ फागुन ८ गते ८:००

नेपाली समाजमा मांसाहारी र शाकाहारी दुबै किसिमका मान्छे पाइन्छन् । शाकाहरी मानिसको संख्या एकदमै कम रहेको हाम्रो देशमा मासु कसरी खाने भन्ने निकै अन्योल रहेको छ । साथै मासु पनि सेतो र रातो गरी दुई किसिमको हुने गर्दछ । नेपालमा हालसम्म सेतो मासुको रुपमा ब्वाइलर कुखुरा मात्र अत्यधिक प्रयोगमा छ । अन्य सेतो रङको मासु खासै प्रयोगमा आएको छैन । तर स्वास्थ्यको लागि सेतो मासु अत्यन्त लाभदायक छ यसका फाइदाका बारेमा जति व्याख्या गरे पनि कमै हुन्छ ।

हामीमा मासु कस्तो खाने भन्नेमा धेरै अन्योल रहेको भए पनि ताजा र स्वस्थ पंक्षी तथा जनावरको मासु खानुपर्ने कुरामा भने सचेत रहनै पर्दछ । सेतो र रातो दुई प्रकारको मासुमा स्वास्थ्यको ख्याल राख्ने हो भने सेतो मासु लाभदायक हुन्छ ।

विशेषतः मासुमा भिटामिन, प्रोटिन र मिनरल्सको प्रमुख स्रोत पाइन्छ । यी तत्वहरु हाम्रो शरीरलाई आवश्यक तत्व हुन् । अन्य खानाबाट पनि यी तत्व पाउन सकिने भए पनि ज्यादा मानिसले यी तत्व प्राप्त गर्न मासुको प्रयोग गर्ने कारण मासु उपभोग गर्दा ध्यान दिन जरुरी हुन्छ ।

रातो मासुमा त्यही–त्यही तत्व धेरै पाइन्छ भने सेतो मासुमा कम हुने कारण स्वास्थ्यलाई लाभदायक हुन जान्छ । खसी बोका बाख्रा रांगाका मासु रातो मासुमा पर्दछन् । सेतो मासुमा कुखुरा, हाँस, पंक्षीहरु र खरायोको मासुमा पर्दछन् । मायोग्लोबिन भन्ने तत्व रातोमा बढी हुने कारण यसको असर दीर्घकालीन हुन्छ तर सेतो मासुमा यो तत्व ज्यादै कम हुने कारण ज्यादा असरदार हुँदैन । चिल्लोको मात्रा पनि रातो मासुमा धेरै हुने कारण अधिकांश नेपालीलाई रातो मासुको कारण रोगी बनाइरहेको छ । त्यसमाथि पनि हामी मासुमा मसलाको प्रयोग ज्यादा गर्छौं । मासुमा चिल्लो पदार्थ धेरै हुने हुँदा यसलाई पोलेर वा उसिनेर खानु हितकर हुन्छ । मासुमा तेल र मसला ज्यादा प्रयोग गरेर हामी अझै अस्वस्थ हुँदै गएका छौं । मसला नहाली मासु नरुच्ने नेपालीहरुले त अझै सेतो मासु प्रयोग गर्नु हितकर हुन जान्छ ।

सेतो मासुमा फ्याट कन्टेन्ट पनि निकै न्यून हुन्छ । यसकारण स्वास्थ्यका हिसाबले रातो मासुभन्दा सेतो मासु खानु ठीक हुने भएको हो । रातो मासुले रक्तचाप पनि बढाउन जान्छ । रातो मासु खाने मानिसलाई क्यान्सरको खतरा सेतो मासु खानेको तुलनामा ज्यादा रहन्छ । रातो मासुमा एक प्रकारको ‘हेन’ नामको आइरन पनि हुन्छ जसले ग्यास्ट्रिक, अल्सर र क्यान्सर हुन सक्ने खतरा सँधै रहन्छ । हेन तत्व ‘हेलिकोब्याक्टर पाइलोरी’ ब्याक्टेरिया बढाउने एक खतरनाक तत्व हो । तसर्थ तपाईं स्वस्थ हुन चाहानु हुन्छ भने रातो मासु प्रयोग नगरेर सेतो मासु प्रयोग गर्नुहोस् । जसले अमूल्य स्वस्थ्यलाई नाश हुनबाट बचाउँछ । थोरै बिचार गरे मस्त र स्वस्थ हुन पाइन्छ भने बिरामी भएर अस्पताल धाउनु राम्रो हो त ?

प्रतिक्रिया