प्रदेशसभा विघटन गर्ने तयारीमा मुख्यमन्त्री राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा विघटन गर्ने तयारी गरेका छन् ।आफूविरुद्धको अविश्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेस उभिए प्रदेशसभा विघटन गर्ने तयारीमा मुख्यमन्त्री राई रहेका हुन् ।
प्रचण्ड–नेपाल समूहले प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए राईले प्रदेशसभा नै विघटन गर्नेबारे आन्तरिक छलफलसमेत चलाएको स्रोतले जनाएको छ ।
प्रदेशमा राजनीतिक अस्थिरता भित्र्याउनुभन्दा अहिलेको राजनीतिक परिस्थितिमा प्रदेशसभा विघटन गर्नु नै उचित रहेको निस्कर्ष निकालेर राई विघटनको मुडमा पुगेको मुख्यमन्त्री निकट स्रोतको दाबी छ ।
प्रदेश १ मा ९३ जना सांसद् छन् । जसमध्ये नेकपाका ६७ सांसद् छन् भने कांग्रेसका २१ सांसद् छन् । गत पुस १२ मा नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सांसद्ले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । राईका पक्षमा २१ जना संसद् मात्र प्रष्ट रुपमा खुलेका छन् ।
यता प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार)का लागि बोलाइएको छ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले प्रदेशसभा बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।
नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आजको बैठकमा राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ । तर, ओली समूहले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका हुन् । ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठक पनि अवरुद्ध गरिने बताए ।
अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेशसभा भंग गर्ने चेतावनी उनले दिएका हुन् ।
प्रतिक्रिया