बिहीबार, वैशाख १३, २०८१

‘संवैधानिक पत्नी’ लघुकथा कृति सार्वजनिक

नेपालखोज २०७७ फागुन ९ गते १८:३६

काठमाडौं । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको पछिल्लो लघुकथा कृति ‘संवैधानिक पत्नी’ सार्वजनिक भएको छ। आइतवार बिहान स्रष्टाहरूले एकसाथ उक्त लघुकथासंग्रह सार्वजनिक गरेका हुन्।

सोही कार्यक्रममा उक्त पुस्तकमाथि अन्तरक्रिया पनि गरिएको थियो।

कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले धेरै लेखकहरू मुलुकबाहिर गएपछि लेखनमा निष्कृय हुने र थोरै लेखकमा मात्रै साहित्यमा सक्रियता रहेको उल्लेख गर्दै बजगाईं अत्यन्त सक्रिय लेखक रहेको बताए। उनले बजगाईंको लघुकथासंग्रह ‘संवैधानिक पत्नी’को समीक्षा गर्दै लघुकथामा राजनीति, परिवार र सिंगो समाज समेटिएको बताए। लघुकथाको शिल्प विधानलाई अँगालेर लेख्ने उत्कृष्ट लघुकथाकार भएको बताए।

साहित्यकार प्रमोद प्रधानले लघुकथा लेखनले व्यापकता लिए पनि लघुकथाका प्रतिनिधि लेखकहरूलाई बिर्सिंदै गएकोमा दुखेसो पोखे। समालोचक डा. लेख निरौलाले बजगाईंको लघुकथामा मिथकिय प्रस्तुति बेजोड रहेको बताए। समालोचक डा. विदुर चालिसेले बजगाईं नयाँ प्रयोग गर्न रुचाउने उनका लघुकथाको प्रस्तुतिमा चमत्कारिता रहेको बताए।

पुस्तक प्रकाशक विवेक सिर्जनशील प्रालिका विजयराज आचार्यले नेपालदेखिको उनको लेखनमा रहेको सिर्जनशीलत विदेशमा पुगेपछि पनि कुनै कमी नआएको बताए। लघुकथा समाज नेपालका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, सचिव तुलसीहरि कोइरालाले बजगाईंको लघुकथाकारिताका बारेमा आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया