विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहमाथि सरकारले लगाएको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी भएको छ ।
विध्वंशात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपी विप्लवमाथिको राजनैतिक प्रतिबन्ध सम्भवतः आज (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने भएको हो ।
विप्लव समूह सरकारसँग वार्ता गर्न तयार देखिएपछि सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ला गरिने भएको हो ।
विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका थिए ।
पार्टी प्रतिवन्ध फुकुवा गरेर वार्ताको माध्यमबाट विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतका शेखी झार्न सकिने र चुनावमा मिलाएर जाने रणनीतिअनुसार वार्ताको थालनी गरिएको बुझिएको छ ।
सरकार र विप्लव समूह दुवैले वार्ता टोली सम्भवत आज नै घोषणा गर्ने तयारी छ । सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेता धर्मेन्द्र बाँस्तोला पनि आज नै सर्वोच्च अदालतको आदेशमा आजै छुट्नुहुने छ ।
यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदान समेत भइसकेको जनाइएको छ । आइतबा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो ।
प्रतिक्रिया