बिहीबार, मंसिर २७, २०८१

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै

नेपालखोज २०७७ फागुन ११ गते १०:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (मंगलबार)का लागि बोलाएका छन् ।आकस्मिक रुपमा बोलाइएको सुरक्षा परिषद्को बैठकमा सामान्य तथा गम्भीर सुरक्षा चुनौतीबारे छलफल हुने छ ।

रक्षामन्त्री समेत प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यननजर गरेर बैठक बोलाएका हुन् । तर, रक्षासचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद् विघटनको मुद्दामा मंगलबारदेखि जुनसुकै बेला फैसला आउन सक्ने बताएका छन् ।

यता प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाईको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ ।

सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।

विघटनको मुद्दा सदर वा बदर जे भए पनि आन्दोलन भड्किन सक्ने र त्यसले हिंसाको रुप पनि लिन सक्ने अनुमान सुरक्षा विज्ञहरुले गरिरहेका बेला प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि सोमबार बेलुका केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

यसैगरी सोमबार नै प्रधानन्यायाधीश जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले सर्वाेच्चमै पुगेर भेटवार्ता गरेका थिए । उक्त भेट पनि संसद् विघटन मुद्दाको फैसलापछि आउन सक्ने प्रतिकुल अवस्थालाई कसरी सामना गर्ने भन्नेमा केन्द्रीत रहेको श्रोतको दाबी छ ।

प्रतिक्रिया