प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार बिहान पार्टीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनकन लागि मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट विधिको शासन पुनर्बहाली भई मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको जनाएको छ ।
‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ । विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसद्बाट नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संविधानको रक्षा गर्ने दायित्व ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई सदर गर्दै साथ दिएकाले राष्ट्रपति भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने विवेकशील साझाले जनाएको छ । ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसदमा रहेका सम्पूर्ण दल र सांसदलाई हामी आह्वान गर्दछौं,’ पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टीले पछिल्लो समय असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्ति खारेज गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया