नेकपा ओली समूहको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी समिति बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन् ।
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङका अनुसार संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको पछिल्लो अवस्थाबारे छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।
उनका अनुसार बैठकमा समसामियक राजनीतिक परिवेशबारे छलफल हुनेछ ।
यता नेकपा प्रचण्ड–नेपाल समूहले पनि आजै संसदीय दलको बैठक बोलाएको छ । यो समूहले अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद् विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेको बेला प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’
यसका साथै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि मान्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने थापाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया