नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनर्स्थापना गरेपछि उनले बुधबार विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूमबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेका छन् । गौतम अभियानको संयोजकसमेत रहेका छन् ।
पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहेका छन् ।
प्रतिक्रिया