बिहीबार, वैशाख १३, २०८१

सत्ता साझेदारी गर्न जसपाले प्रचण्ड–नेपालसँग राख्यो शर्त

नेपालखोज २०७७ फागुन १३ गते १२:१४

काठमाडौं । सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहसँग शर्त अगाडि सारेको छ । बिहीबार विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही शर्त अगाडि सारेका छन् ।

जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ । विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ । छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

जसपा नेपालले साझा एजेण्डाको माग पनि गरेको छ । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए ।

प्रतिक्रिया