मंगलबार, वैशाख ११, २०८१

उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स संघबीच

नेपालखोज २०७७ फागुन १३ गते २१:११

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले आज एक कार्यक्रमबीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका हुन ।

दुवै संस्थाबीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाईसमेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने कार्यक्रम छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चिय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव सम्वोधन गर्नेछ अध्यक्ष गोल्छाले भने, ‘ एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताउंदै अगाडि भने, ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं ।’

प्रतिक्रिया