कांग्रेस सभापति देउवासँग चीन र भारतका राजदूतको भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन् ।
संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कसरत भइरहेका बेला चीन र भारतका राजदूतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर भेटेको बताइएको छ ।
पार्टीका सह–महामन्त्री प्रकाशशरण महतका अनुसार देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेको हुन।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेसका सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ ।
नेपालमा राजनीतिक रस्साकस्सी भइरहेका बेला छिमेकी मुलुकका राजदूतहरुले प्रमुख प्रतिपक्षी दलका नेतासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
बुधबार मात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उनलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । यस क्रममा चीन र भारतका राजदूत पनि सक्रिय भएका हुन् ।
नेपालमा नयाँ सरकार गठनका लागि मुख्य भर देखिएको कांग्रेससँग दुवै देशका राजदूतले भेट गरेका हुन् ।
प्रतिक्रिया