बिहीबार, चैत १५, २०८०

संसद् पुनःस्थापनासँगै सरकार र विप्लवबीचको वार्ता प्रभावित

नेपालखोज २०७७ फागुन १४ गते १६:३१

काठमाडौं । संसद् पुनस्स्थापनासँगै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीचको वार्ताको वातावरण प्रभावित भएको छ । पुस ५ संसद् विघटनपछि सरकारले चन्द समूहसँग वार्ताका लागि प्रयास थालेको थियो ।

तर, सर्वोच्च अदालतले फागुन ११ मा संसद् पुनस्स्थापना गरेसँगै विकसित राजनीतिक घटनाक्रमपछि सरकार र चन्द समूह दुवै पर्ख र हेरको रणनीतिमा लागेपछि वार्ताको वातवरण प्रभावित भएको हो । सरकार र चन्द समूहबीच वार्ताको वातवरण बनाउने गृहकार्यमा जुटेका एक नेताले विकसित राजनीतिक घटनाक्रमपछि वार्ता अगाडि बढाउन केही असहज भएको बताए ।

संसद् पुनस्स्थापनापछि केपी ओली नेतृत्वको सरकारको ठाँउमा नयाँ सरकार बन्ने सम्भावना चन्द समूहले देखेपछि उसले वार्तालाई हतारको विषय नबनाएको बताइएको छ । पछिल्लोपटक प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसका दिन फागुन ७ मा नामै नलिई चन्द समूहलाई संवादमा आउन आग्रह गरेका थिए ।

फागुन ९ गतेपनि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा चन्दसँग वार्ता हुन लागेको संकेत गरेका थिए । त्यसअघि चन्दले शनिबार विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

माघ २० गते मात्र सरकारका तर्फबाट खानेपानी मन्त्री मणि थापाले नक्खु जेलमै पुगेर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका थिए ।पछिल्लो पटक पुस २९ मा चन्द समूहका अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका थिए । मंसिर २३ मा मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यापछि सरकार चन्द समूहविरुद्ध थप आक्रामक भएको थियो ।

प्रतिक्रिया