बिहीबार, वैशाख १३, २०८१

बाल विवाह गरेको भन्दै मण्डपबाटै बेहुला र बेहुलाका बाबु पक्राउ

नेपालखोज २०७७ फागुन १५ गते ११:३०

वीरगन्ज । कानून बमोजिम उमेर नपुगी विवाह (बाल विवाह) गरेको कसुरमा पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षया किशोरीको उमेर नपुगी विवाह गरेको आरोपमा प्रहरीले बेहुला र बेहुलाको बुवा समेत गरी २ जनालाई पक्राउ गरेको हो ।

उमेर नपुगेका किशोर–किशोरीको विवाह हुन लागेको भनेर प्राप्त सूचनाअनुसार खटिएको प्रहरीले बेहुला र बेहुलाको बुवालाई विवाह मण्डपबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बेहुला समेत १९ वर्षका छन् । उमेर नपुगेका किशोर-किशोरीको विवाह गराएको भन्दै प्रहरीले बेहुलाका बुवा तथा उमेर नपुगी विवाह गर्ने बेहुलालाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका-१६ नगवा घर भएका दुवै जनालाई पक्राउ गरी बाल विवाहको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार महिला वा पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । संहिताको दफा ७० को उपदफा (१)को देहाय (घ) मा २० वर्ष उमेर पुगेका महिला र पुरुषबीच विवाह हुनसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया