बिहीबार, वैशाख १३, २०८१

भारतीय किसानको आँखामा आँशु, नीजि क्षेत्रका कारण नेपाली किसानको भान्सामा माछामासु

नेपालखोज २०७७ फागुन १५ गते १५:५४

छिमेकी मुलुक भारतमा किसानहरुको लगातार आन्दोलन चलिरहेको छ । भारतका किसानहरुलाई सरकारले जबरजस्ती लाद्न खोजेको किसान बिल मन परेको छैन । सरकारको नालायकीपनदेखि आजित भएर किसानले सडक संघर्षमार्फत् आफ्ना माग गरिरहँदा भारतको सरकार आन्दोलनरत किसानका मुद्दालाई संवोधन गर्नुको साटो धरपकड गर्ने र दुख दिने काममा व्यस्त रहेको कुरा हामी सबैलाई अवगतै छ ।

भारतसँग खेतीयोग्य जमीन र खेती गर्ने किसानको कमी छैन । नेपालको तुलनामा भारतका किसानको अवस्था राम्रो हुनुपर्ने हो । तर, त्यस्तो अवस्था त्यहाँको किसानको कदापि छैन । नेपाल भुटान माल्दिभ्स सम्म भारतीय किसानका उपजहरु बिक्री हुन्छन् । भारतको कृषि उत्पादन विश्व बजारसम्म पुग्छ तर पनि किसानको अवस्था भने सँधै उस्तै छ । भारतका किसानहरु विश्वमा नै धेरै आत्महत्या गर्ने किसानमा पर्दछन् । भारतमा चुनावको एउटा फण्डा नै हुन्छ कि हाम्रो पार्टीको सरकार बन्यो भने किसानका लागि सहुलियत दिन्छौं भन्ने खालको । तर, सरकार बनेपछि किसानको होइन बिचौलियाको फाइदाको लागि सरकारहरुले काम गर्दछन् । त्यही कारण हो, हजारौं किसानले भारतमा वर्षेनी आत्महत्या गर्ने ।

भारतमा किसानलाई राजनैतिक पार्टीहरुले यति आश्वासन बाँढ्छन् कि मानौं अब किसानले कुनै समस्या भोग्नुपर्दैन । मानौं राजनैतिक पार्टीका कार्यकर्ता स्वयं खेतमा उपस्थित भई खेतीमा सहयोग गर्न आउने छन् । तर, चुनाव पछि किसानका उपज विश्व बजारमा पुग्छ भारत सरकारले अरबौं मुनाफा कमाउँछ र किसानलाई फगत् एउटा नोकरमा परिणत गरिदिन्छ । किसान र सरकारबीचको यो रस्साकस्सी आज मात्र होइन भारत स्वतन्त्र भएसँगै सुरु भएको हो । भारतको आजादीपछिका दिनहरुमा पनि किसानको अवस्था उस्तै छ, जस्तो इष्ट इन्डिया कम्पनी भारतमा रहँदा भारतीय किसान उसका दास थिए ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा नेपाल कृषि प्रधान देश मानिए पनि यहाँको कृषि प्रणाली परम्परागत रुपमा मात्र चलेको छ । आधुनिक कृषि प्रणालीको जति चर्चा चले पनि नेपालमा त्यस्तोे चर्चायोग्य कृषिमा आधुनिकीकरण खासै भएको छैन । सरकारी तवरबाट त्यस्तो उल्लेखनीय कार्य नभए पनि व्यक्तिगत र नीजि क्षेत्रले भने केही उदाहरणीय कामहरु गरिरहेका छन् । सरकारको काम झोलामा फार्म बोक्ने किसानहरुलाई अनुदान बाँढ्ने भए तापनि कतिपय व्यक्ति र संस्थाहरुले भने साँच्चै गरे के हुँदैन भन्ने उदाहरण पेश गरिरहेका छन् । थोरै मानिसहरुले कृषि क्षेत्रमा भविष्य खोजिरहे पनि धेरै युवा त पासपोर्ट बोकेर विदेश पालयन हुन पर्खिरहेका छन् । कतिपय भने विदेश भासिएर परिवार र देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । सरकार भने मान्छे बेच्ने पुरानै धन्दामा अघि बढिरहेको छ ।

यसो हुँदाहुँदै पनि मुलुकमा नीजि क्षेत्रले भने कृषि कर्ममा युवाको भविष्य छ भन्ने जागरण ल्याउन धेरै कामहरु गरिरहेको छ । तराई क्षेत्रमा धेरै संघ संस्था र व्यक्तिहरुको सक्रियतामा कृषिकर्मको थालनी भएको छ । त्यस्तै आशा जगाउने एक कृषिकर्मको नाम हो मुलुकको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले सुरु गरको ‘माटो’ ब्रान्ड । माटो ब्राण्डले कृषिकर्मलाई व्यवसायिकता प्रदान गर्न र नेपाली कृषकहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यसले कृषिकर्म गर्न चाहने युवावर्गलाई साँच्चै आकर्षित गरको भान हुन्छ ।

झापामा आफैंले दुई सय विघामा कृषि अन्न उत्पादन गरी अन्य कृषकको पनि उपज खरिद गरी माटो ब्रान्डले बिक्री वितरण गरिरहेको छ । व्यापारीका लागि मुनाफा महत्वपूर्ण हुने भए पनि यसले कृषकलाई साँच्चै आकर्षित हुने गरी काम गरिरहेको देख्दा कृषिकर्ममा नेपालमा भविष्य छ भन्न डर मान्नुपर्ने अवस्था छैन । धेरै युवावर्गले माटो ब्रान्डसँग जोडिएर काम गरिरहेका पनि छन् । उत्पादनको सही मूल्यांकन र बजारको व्यवस्थापन राम्रो गरिरहेका कारण यसको कामसँग कृषक मात्र जोडिएका छैनन् अपितु उपभोक्ता पनि जोडिएका छन् ।

माटो ब्रान्डले विषादीमुक्त तरकारी बजारमा बेच्ने गर्दछ । यसले गर्दा उपभोक्तालाई विषादीयुक्त तरकारी खान बाध्य हुनुपर्ने छैन । त्यस्तै कृषकहरुलाई पनि विषदीमुक्त उपज उत्पादन गर्न प्रेरित गर्दछ । किसान र उपभोक्ता दुबैलाई यसरी समन्वय गरी गोल्यान समूहले मुलुकको अर्थतन्त्र र व्यापारघाटालाई नियन्त्रण गर्ने लक्ष लिई काम गरिरहेको देख्दा मुलुकलाई फाइदा पुग्छ कि भन्ने आशा जागेको छ ।

नीजि क्षेत्रमा यस्तो आशा जाग्दो काम गोल्यान समूहका अतिरिक्त विभिन्न समूहहरुले पनि गरिरहेका छन् । यस्ता कामहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । बुटवलमा पाँच सयभन्दा बढी गाई पालन गरिरहेका शशी पौडेल, गोरखामा दुई सय गाई पालन गरिरहेका राजेन्द्र पन्त, चितवनमा पशुपालनमा सक्रिय लालीगुराँस समूहहरुको काम साह्रै प्रशंसनीय छन् । नेपालमा कृषि क्षेत्रमा यस्ता धेरै नाम छन् जसले युवापुस्तालाई कृषिकर्म गर्न प्रेरित गरिरहेका छन् । हामीकँहाँ पनि छिटपुट रुपमा किसानहरु आन्दोलित भइरहन्छन् । यसो हुनुमा सरकारले कृषकका समस्यालाई नजरअन्दाज नगर्नु नै हो ।

गाउँगाउँमा खेतीयोग्य जमिनमा कंक्रिटे जंगल निर्माण भइरहँदा कृषिकर्मलाई सरकारले प्रोत्साहन गर्ने हो भने साँच्चै नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ । नीजि क्षेत्र यसरी सक्रिय भएर काम गरिरहँदा सरकारले त्यसको राम्रो समन्वय गरिदियो भने देशको कृषि क्षेत्र जुर्मुराएर उठ्नेछ, यसमा शंका छैन । भारतका किसानको आँखामा आँशु बहिरहँदा कमसेकम नेपाली किसानले नीजि क्षेत्रका कारण थोरै भएपनि राहत पाएका छन् । तर, हामी यसमै रमाएर बस्न भने कदापि हुँदैन ।

प्रतिक्रिया