शुक्रबार, वैशाख १४, २०८१

‘नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले कुनै पनि समूहलाई समर्थन गर्दैन’

नेपालखोज २०७७ फागुन १५ गते २१:३६

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले तत्काल कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् ।

शनिवार सिन्धुलीमा नेपाली कांग्रेस तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका हुन् ।

‘झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा लोभ र लालसका कारण फुटको संघारमा पुगे पनि तत्काल पुटि सकेको छैन । एकै ठाउँ जुटी पनि सकेको छैन । यस्तो अवस्थामा नेपाली कांग्रेस तत्काल सरकारमा जाने अवस्था पनि आउँदैन । कुनै एक समूहलाई समर्थन पनि गर्दैन,’ उनले भने ।

आगामी २३ गते सांसद आह्वान भएको सन्दर्भमा सांसदमा नेकपाको आधिकारिकताबारे टुङ्गो भएपछि मात्र कांग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने टुङ्गो लगाउने थापाले बताए ।

‘जनताले कांग्रेसलाई पाँच वर्षसम्म सरकार चलाउने म्यानडेट दिएको छैनन् । नेकपाले पाँच वर्षसम्म सरकार चलाउने क्षमता पनि राखेन । अब कांग्रेस दुईतिहाई बहुमतसहित आगामी निर्वाचनबाट सरकारको नेतृत्व गर्ने म्याण्डेट लिएर मात्र सरकारमा जान्छ,’ उनले थपे ।तर, कांग्रेस चुनावमा जाँदा पाँच वर्षभित्र गर्ने कामका एजेण्डा सहित जनताका बीचमा भोट माग्न जाने उद्घोष गरे ।

प्रतिक्रिया