शुक्रबार, चैत १६, २०८०

दलित समुदायको सशक्तीकरणका क्रान्ति अघि बढिसक्यो : उपेन्द्र यादव

नेपालखोज २०७७ फागुन १६ गते १४:४७

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका दलित समुदायको सशक्तीकरणका क्रान्ति अघि बढिसकेको बताएका छन् ।

दलित समुदायले इतिहासमा धेरै पटक बलिदानी दिनुपरेको तर, दलितले मुक्ति पाउन नसकेका कारण बताउँदै अब हुने समाजवादी क्रान्तिमा भएको योगदानलाई आफूहरुले खेर जान नदिने अध्यक्ष यादवले बताए ।

आइतबार काठमाडौंमा समाजवादी दलित मुक्ति महासंघले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले सो कुरा बताएका हुन् ।

यादवले संविधानले दलितका केही अधिकारहरू सुनिश्चित गरे पनि कार्यान्वयन गर्ने शासकको सोचका कारण दलित मुक्ति हुन नसकेको बताए ।

‘मान्छेको कुनै जात हुँदैन । तर, मनुस्मृतिमा आधारित भएर भारतखण्डमा खडा गरिएको जाति प्रथा यहाँ भित्र्याएर शोषण गर्ने षड्यन्त्र भएका भयो,’ उनले भने, ‘यसको अन्त्यका लागि दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पु-याएको छ, तर समस्या अझै उस्तै छ । यसको निराकरण समाजवादी क्रान्तिबाट मात्रै सम्भव छ ।’

कार्यक्रममा काठमाडौं उपत्यकाका करिब ६ सयजना विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष यादवले सबैलाई खादा ओढाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया