मंगलबार, वैशाख ४, २०८१

सेनिटाइजर सेवनका कारण दुई जनाको मृत्यु

नेपालखोज २०७७ फागुन १७ गते २१:०४

विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर सेवन गरेका थिए । मण्डलको कोसी अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेनन्ट डा। चुमनलाल दासले जानकारी दिए । मण्डलको स्वास्थ्य जाँच गर्दा अर्गानो फोसफरस देखिएको उनले बताए ।

महिलाले सेनिटाइजर सेवन गरेको भएपनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया