चीनसँग काम गर्दा होसियार रहन बाइडेनको चेतावनी
एजेन्सी । अमेरिकन सरकारले आफ्नो देशमा कार्यरत कम्पनीहरूलाई चीनसँग कारोबार गर्दा होसियारी अपनाउन चेतावनी दिएको छ । बीबीसीका अनुसार चीनसँग व्यापार गर्दा ‘जबर्जस्ती श्रम’ गराएर फाइदा लिन नचाहेको सुनिश्चित गर्न कम्पनीहरूलाई सचेत गराइएको हो ।
यस सम्बन्धमा अमेरिकन ट्रेड रिप्रेजेन्टेटिभ कार्यालयले कंग्रेसलाई एक रिपोर्ट बुझाएको छ, जसमा भनिएको छ– उत्पादन प्रक्रियामा जबर्जस्ती श्रम गराउनु मानव अधिकारको उल्लंघन हो र कम्पनीले यसको जिम्मेवारी लिँदै आफ्ना उत्पादन प्रक्रिया त्यस्तो नहोस् भन्नेमा दृढ हुनुपर्छ ।
समाचार एजेन्सी एएफपीका अनुसार सोमबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले गलत तरिकाले व्यापार गर्ने चीनको प्रयासले आफ्नो देशका श्रमिक र व्यापारलाई नोक्सान पुग्ने भन्दै त्यसलाई रोक्न हरसम्भव प्रयत्न गरिने बताएका छन् ।
प्रतिवेदनमा भनिएको छ– देश विदेशका उपभोक्तालाई त्यस्तो उत्पादन चाहिएको छैन, जसमा मानिसलाई जबर्जस्ती श्रम गराइएको होस् । र, योजनाबद्ध तरिकाले दमन गर्ने व्यवस्थासँग प्रतिस्पर्धा गर्नु मजदुरको हितमा छैन ।
प्रतिवेदनमा उइगर मुसलमान एवं अल्पसंख्यकको मानव अधिकार उल्लंघन सरकारका प्राथमिक काममध्ये एक हो भनिएको छ ।
चीनले भने त्यस्तो आरोप अस्वीकार गरिरहेको छ ।
योसँगै बाइडेन प्रशासनले यससँग सम्बन्धित नयाँ कानुन ल्याउने सम्भावना बढेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया