बुधबार, असार १८, २०८२

सरकारसँग वार्ता गर्न विप्लवद्वारा दुई सदस्यीय टोली गठन

नेपालखोज २०७७ फागुन १८ गते १३:५८

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो ।

विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा विप्लव समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् ।

विप्लव समूहका अनुसार सरकारसँग वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको छ भने सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने विप्लव समूहको माग छ ।

विप्लवसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

यसअघि विप्लवले फागुन ८ गते विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

त्यसपछि सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले झण्डै २० महिना अगाडि चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

प्रतिक्रिया