बिहीबार, वैशाख १३, २०८१

पेट्रोलियम पदार्थको अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

नेपालखोज २०७७ फागुन १८ गते १९:४१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो ।

निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ ।

ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।

त्यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ ।

कार्यालयले पाँच चालकरसहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ ।

प्रतिक्रिया