मंगलबार, वैशाख ४, २०८१

कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान हुँदैन : थापा

नेपालखोज २०७७ फागुन १८ गते २१:०६

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताएका छन् ।

सर्लाहीको धनकौलमा नेपाली कांग्रेसले आयोजना गरेकोे बृहत् आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले नेकपाभित्र भाँडभैलो मच्चिएका बेला कांग्रेस सरकारमा जान हतार गर्न नहुने बताउँदै गएको पुस ५ गतेभन्दा अघि भएका सबै खाले गल्तीको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जिम्मेवारी लिनुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सुरक्षा चिन्ता गर्नुले आफू अचम्मित भएको बताउँदै वर्तमान सरकारले नागरिकको सुरक्षा गर्न नसक्ने नेता थापाले दाबी गरे ।

‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आशरभरोसा गर्ने ? प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिँड्न थाल्नुभएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन, जताततै जुनसुकै बेला जे हुँदो बोलेर हिँड्नु हुन्छ, उहाँले रोजेको प्रतिगमन बाटोलाई अदालतले ठेगान लगाइ दिएपछि प्रधानमन्त्री रनभुल्लमा पर्नुभएको छ, अब निर्वाचन आयोगले नेकपाभित्रको विवादलाई चाँडै टुङ्गो लगाइदिएर बाटो खोली दिनुपर्छ’, नेता थापाले भने।

कांग्रेसलाई नागरिकले सरकारमा जानभन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया