मंगलबार, मंसिर १८, २०८१

विप्लवसँग पहिलो चरणको वार्ता सकारात्मक : राजन भट्टराई

नेपालखोज २०७७ फागुन १९ गते १३:५६

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच बुधबार भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबरा बिहान ७ बजेदेखि ११ बजेसम्म भएको वार्ता सकारात्मक दिशााउन्मुख रहेको सदस्य भट्टराईले जानकारी दिएका हुन् ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सदस्य डा. राजन भट्टराई साथै विप्लव समूहका प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने वार्तामा सहभागी थिए ।

वार्ताका विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताइएको छ ।

त्यसो त वार्तामा विप्लव समूहका तर्फबाट सबैभन्दा पहिले कारागारमा रहेका आफ्ना नेता तथा कार्यकर्ता रिहाको सर्त अघि सारिएको थियो भने विप्लव समूहको सर्त पूरा गर्न सरकारी पक्ष तयरा भएको बुझिएको छ ।

यता सरकारी टोलीले विप्लव समूहसँग भएको हातहतिरा राज्यलाई बुझाएपछि मात्रै वार्ता प्रक्रिया सहज हुने सर्त अघि सारेको छ । त्यस विषयमा विप्लव पक्षले आफ्नो पार्टी छलफल गरेर मात्रैे निर्णय लिने सुनाएको थियो ।

भट्टराईले वार्ता सकिनासाथ सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्,‘नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

सरकार र विप्लव नेकपाले मंगलबार वार्ता टोली बनाएर सार्वजनिक गरेका थिए । आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव नेकपामाथि माथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया