शुक्रबार, वैशाख ७, २०८१

खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल

नेपालखोज २०७७ फागुन १९ गते १४:१२


काठमाडौं । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाकोे मनहरी गाउँपालिका–४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा एभोकाडो ध्यू फल खेती गर्दै आएका छन् ।

खरबारीको रुपमा रहेको जग्गालाई उनले अहिले व्यावसायिक रुपमा फलफूल एभोकाडो खेती गर्दै आएका हुन् । न्यौपानेले आजभन्दा साढे दुई वर्षअघि लगाएको एभोकाडो पाँच वर्षमा फल दिने गरी तयार हुन्छ । करीब दुई बिघा क्षेत्रफलमा रमेपिएको एभोकाडो उत्पादन शुरु भएपछि वार्षिक दुई करोडसम्मको फल बिक्री गर्न सकिने न्यौपानेको प्रारम्भिक अनुमान छ ।

एभोकाडोको बिरुवा अहिले करीब साढे दुई वर्षको भएको उनको भनाइ छ । केही वर्ष अगाडि आम्दानीको स्रोत नभएपछि वैदेशिक रोजगारमा गएका न्यौपानेले दुई वर्षसम्म दुःख गर्दा आफू गएको ऋण तिर्नमात्र सकेको बताए । उनी भन्छन्, “विदेश भनेर धन कमाउन जानु बेकार रै’छ, पैसा त हाम्रै माटोमा पो फल्नेर’छ । यो पाखोले पनि दीर्घकालीन रुपमा योजना बनाइएमा आर्थिक आम्दानी दिन्छ भनेर मैले सोंचेको पनि थिइन ।”

उनले थपे, “मेरो भाइले यो खरबारीमा एभोकाडो लगाउने सल्लाह दियो, त्यसैअनुसार गरेँ । यसको बजार पनि रामै्र रै’छ, फेरि आर्थिक आम्दानीको दृष्टिकोणले समेत राम्रो कमाइ हुने रहेछ । यसमा अन्य खेतीबालीको जस्तो दुःख पनि छैन ।” करीब दुई बिघा क्षेत्रफलमा न्यौपानेले ३५० वटा एभोकाडोको बिरुवा रोप्नुभएको छ । एक बोटले तीन क्विन्टलसम्म फल दिने प्राविधिकले बताएको उनको भनाइ छ । उक्त जग्गामा तारबारसहित जम्मा रु १० लाख लगानीमा शुरु गरेको यस फलफूल खेतीले अबको साँढे दुई वर्षभित्र आम्दानी दिने प्राविधिकले बताएको न्यौपानेले जानकारी दिए ।

काठमाडौँको एक नर्सरीबाट प्राविधिक सहयोगसहित बिरुवा खरीद गरिएको र फल तयार भएपछि पनि सो नर्सरीले नै खरीद गर्ने शर्तसमेत गरिएको उनको भनाइ छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–१३ निवासी सञ्चाकर्मीसमेत रहेका रिपेश दाहालले पनि आफ्नै घरमा एभोकाडोको सामान्य नर्सरी स्थापना गरेका छन् । तत्कालका लागि थारै क्षेत्रफलमा एभोकाडोको नर्सरी स्थापना गरे पनि विस्तारै बढाउँदै लैजाने दाहालको भनाइ छ ।

माग राम्रो भएकाले आफूले पनि भविष्यमा एभोकाडो खेतीलाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य रहेको उनी बताउँछन् । वाग्मती प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई एभोकाडो खेतीतर्फ आकर्षण गर्न किसानलाई एभोकाडोको बिरुवा वितरण गर्ने कार्यको थालनी गरेको छ ।

प्रदेशअन्तर्गतको विभिन्न जिल्लाका रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न प्रजातिका फलफूलका बिरुवासँगै एभोकाडोको बिरुवासमेत किसानलाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सुलोचना श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया