बिहीबार, वैशाख ६, २०८१

तनहुँको सेवरमा औषधि उत्पादन गरिने

नेपालखोज २०७७ फागुन २० गते १०:३०

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ ।

कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो । 

करीब ४५ रोपनी क्षेत्रफलमध्ये १२ रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए ।

भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उनले भने, ‘भवन निर्माणपश्चात् करीब ९ महिनापछि औषधि बजारमा पुर्‍याउने योजना रहेको छ ।’

करीब ५० करोड रुपैयाँ बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । उनले भने, ‘भूइँ तलामा औषधि उत्पादन गरिन्छ भने पहिलो तलामा ल्याब, औषधि अनुसन्धान केन्द्र लगायतका रहने छन् ।’

उनका अनुसार भूइँ तला २० हजार वर्गफिट र पहिलो तला ११ हजार वर्गफिटको हुनेछ । 

‘शुरूको वर्षमा मधुमेह, मुटु, नसा सम्बन्धीका ट्याबलेट, क्याप्सुल र मलमजन्य ४०–५० किसिमका औषधि उत्पादन गर्ने लक्ष्य रहेको छ,’ उनले भने । औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मूल्यमा बजारमा पुर्‍याइने उनको भनाइ छ ।

नेपालमा उत्पादन नभएका नयाँनयाँ किसिमका औषधि उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । उद्योगमा औषधि उत्पादन कार्य शुरू हुन थालेपछि बजार प्रतिनिधिसहित १०० जनाको हाराहारीमा मानिसलाई रोजगारी दिन सकिने सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया