सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, हट्यो विप्लवमाथिको प्रतिबन्ध
काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै विप्लव समूहले हिंसा छाडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।
बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रका सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिको विस्तृत विवरण भने शुक्रबार दिउँसो आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने भएको छ । सहमतिमा चन्द समूहले आफ्ना हिंसात्मक प्रदर्शन रोक्दै शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलापहरू अगाडि बढाउने उल्लेख भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ । त्यस्तै चन्द समूहमाथि लगाइएको प्रतिबन्ध र उक्त समूहका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने पनि सहमतिमा उल्लेख छ ।
सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । साथै पक्राउ परेका विप्लव समूहका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् ।’
वार्ताका लागि सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
त्यस्तै शुक्रबार हुने समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपामा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया