बुधबार, वैशाख १२, २०८१

जन्मबार अनुसार व्यक्तिको स्वभाव र भाग्य

नेपालखोज २०७७ फागुन २० गते १५:०८


आइतबार जन्मिएका व्यक्तिहरू सकरात्मक सोचका हुन्छन् । यी तेजस्वी हुन्छन् । यिनलाई अरुले गरेको नेतृत्व मन पर्दैन । यिनमा निर्णय लिने क्षमता ज्यादै तेज हुन्छ । यिनीहरु प्रगतीको भोका हुन्छन् । यिनलाई हरेक चीजको परिणाम छिटो चाहिन्छ । यिनीहरु निकै विश्वासनीय पनि हुन्छन् । राजनीति, लेखन, टेलिभिजन यिनको आकर्षणमा रहन्छ । वकालत र न्यायालयको क्षेत्रमा पनि यिनको स्वाभाविक झुकाव रहन्छ । यिनीहरु मनमा लागेको कुरा हाकाहाकी भन्छन् । यिनीहरुको चिन्तन शक्ति धेरै हुन्छ । यिनीहरु इमान्दार हुनुका साथै साँचो बोल्ने गर्दछन् । आफ्नो काम गम्भीरताका साथ सम्पादन गर्ने यिनीहरुमा विशेष खाले खुुबी हुन्छ । यिनलाई आफू हारेको मन पर्दैन । जीवनमा देखी बुझी जानेको कुराबाट यिनले अपत्यारिलो पाठ समेत सिक्छन् । छिटो सफलता चाँहदा यिनीहरु कहिलेकाँहि दुर्घटनामा पनि परेको प्रशस्त देख्न सकिन्छ ।

सोमबार जन्मिएका व्यक्तिहरूको स्वभाभ थोरै मूडी हुने हुन्छ । यिनीहरुको स्मरण शक्ति अत्यन्तै तेज, संवेदनशील, मृदुभाषी, र पढाई लेखाईको क्षेत्रमा यिनीहरुको ज्यादै नै लगाव हुन्छ । यिनीहरु भाग्यवादी र ईश्वरवादी हुन्छन् । यिनीहरु विवादमा आउन मन पराउँदैनन् । झैझगडा गरेका मान्छेहरुलाई पनि सजिलै आफ्नो वशमा पारेर काम लिन यिनीहरु माहिर हुन्छन् । यिनको जीवन प्राय विवादरहित हुन्छ । आफ्नो कारण कसैलाई हानी भएको खण्डमा यिनीहरु साह्रै मन दुखाउँछन् । महिलाहरुका सन्दर्भमा कुरा गर्नुपर्दा यिनीहरु मायाका खानी नै हुन्छन् । सोमबार जन्मिएका महिलासँग विवाह गरेका धेरै पुरुषको भाग्य चम्किने संभावना समेत रहन्छ ।

मंगलबार जन्मिएका व्यक्तिहरू बहादुर, स्मार्ट, एक्टिभ, सहयोग गर्न तत्पर रहन्छन् । यिनीहरुलाई रिस धेरै उठ्छ । यिनीहरु हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहन मन पराउँछन् । यिनीहरु विलासिताको जीवन बाच्न मन पराउँछन् । ग्याजेटहरुको प्रयोगमा यिनीहरुको स्वाभाविक रुचि हुन्छ । यी प्रायः आस्तिक स्वभावका , खर्चिला ,स्वयं निर्णय गर्ने , हठी, इमान्दार, बैवाहिक जीवन सुखमय बिताउन चाहने , कामुक, निडर,जागिरभन्दा व्यवसायमा रुचि लिने हुन्छन् । कहिलेकाँहि यिनीहरु आडम्बर प्रस्तुत पनि गर्दछन् । यिनीहरु अरुलाई सहयोग गरेको कुरा बारम्बार सम्झाइरहन्छन् । आफूले योग्य बनाएको मान्छेबाट यी हरहमेसा काम लिन तत्पर रहन्छन् । यिनलाई धोका दिने मान्छेले पचास पटक सोच्नुपर्ने हुन्छ । धोकाको चाल पाएमा यिनले धोका दिनेको जीवनमा फलिफाप नहुने उपाय रच्दछन् ।

बुधबार जन्मिएका व्यक्तिहरू शान्त स्वभावका हुन्छन् । यिनीहरु ज्यादा रिक्स लिन मन पराउँदैनन् । यिनको हृदय सफा र स्वच्छ हुन्छ । नयाँ कुराको खोज गरिरहनु यिनको अर्को स्वभाव हो । यीनलाई सजिलै विश्वास गर्न सकिन्छ । यिनीहरु धोका दिन र पाउन मन पराउँदैनन् । यिनीहरु जीवनमा आफूले गरेको मिष्टेकबाट राम्ररी पाठ सिक्छन् । यिनीहरु ज्ञानको क्षेत्रमा बढी सक्रिय हुन्छन् । यिनको बोलीमा विश्वास हुन्छ । प्रायः यी आत्मविश्वासी र यदाकदा आत्मप्रशंसक पनि हुन्छन् । रिसाउने कुरालाई पनि जोक बनाएर भन्न सक्ने यिनमा अनौठो स्वभाव हुन्छ । यिनीहरु चाप्लुसी र चाकडी गर्न चतुर हुन्छन् । यी आफ्नो मीठो बोलीले प्रभाव पारी अरुबाट काम लिन सिपालु हुन्छन् । समग्रमा यिनीहरु बाठो हुन्छन् ।

बिहीबार जन्मिएका व्यक्तिहरू ईज्जत दिन र लिन मन पराउँछन् । यी ज्यादै महत्वाकांक्षी हुन्छन् । यिनलाई उन्नति प्रगतीको ज्यादै ठूलो भोक हुन्छ । यिनको जीवन आदर्शले भरिएको हुन्छ । समाजमा प्राय यिनको उदाहरण दिएर मानिसले अरुलाई प्रेरणा दिइरहेका हुन्छन् । यिनलाई संघर्ष गर्नु राम्रो लाग्छ । यी भाग्यमा कमै विश्वास गर्छन् । यिनीहरु गरिवीको कारण कम श्रम र ढंग नपुर्याई काम गर्नुलाई मान्छन् । यिनीहरुको जीवन एउटा आदर्शले भरिएको हुन्छ । सफल हुनु परिश्रमको कारण हो भन्ने मानसिकता बोक्ने यिनीहरु काम बिग्रिएको खण्डमा यिनीहरु आफूभन्दा तल रहेका कर्मचारीहरुलाई गाली गर्न पनि पछि पर्दैनन् । यिनीहरु समाजको नेतृत्व वर्गमा रहेका हुन्छन् । कहिलेकाँहि यिनीहरु पक्षपात गर्न पनि पछि हट्दैनन् ।

शुक्रबार जन्मिएका व्यक्तिहरू सुन्दर हुन्छन् । यिनीहरु गुदीका तहमा कमजोर भए पनि सुन्दरताका कारण सफल भइरहेका हुन्छन् । यी कला क्षेत्रमा रुचि भएका हुन्छन् । यिनको लगाव सँधै कला क्षेत्रमा रहन्छ । यिनको रिस छिटो शान्त हुन्छ । यिनको मुहारमा एक किसिमको चमक हुन्छ । त्यसैकारण यिनलाई धेरै मान्छेले छिटो विश्वास गर्छन् । यिनीहरु बेलाबेला प्रेममा असफल पनि हुन सक्छन् । यिनीहरुको वैवाहिक सम्बन्धमा एक किसिमको शंका उपशंका उत्पन्न भइ नै रहन्छ । यिनीहरु ज्यादै भावुक हुन्छन् । यिनको हातमा पारिवारिक अवस्था जस्तोसुकै भए पनि पैसाको कमी हुँदैन । यिनलाई छिटो सफल भएको देखे पनि यिनीहरुलाई सफल हुन भने निकै समय लाग्ने गर्छ । यिनीहरु कम रिसाउने कारण यिनका मित्रहरुसँग यिनको सम्बन्ध ज्यादै घनिष्ठ रहन्छ ।

शनिबार जन्मिएका व्यक्तिहरू गम्भीर स्वभावका हुन्छन् । यिनीहरु थोरै रिसाहा र जिद्दी भए पनि यिनको हृदय सफा नै हुन्छ । यी कसैलाई आफ्नो तर्फबाट दुःख दिन चाहँदैनन् तर कसैबाट धोका पाएको खण्डमा यिनीहरु दुश्मनलाई व्यवहार गरे जस्तै व्यवहार गर्दछन् । धोकेबाझलाई यिनीहरु सास रहेसम्म असफल बनाउन लागि पर्दछन् । त्यसै कारण यिनीहरु कहिले काँहि आफ्नो सारा जीवन दुश्मनीमा बिताइदिन पनि सक्छन् । यिनलाई कोहि व्यक्ति मन परेन भने जीवनभर मन पर्दैन । कोहि मन पर्यो भने जीवनभर साथ दिन्छन् । यिनीहरु सौखिन जीवन रुचाउँछन् । यिनीहरु प्रायः, हाइ क्लास वस्तुको उपयोग मन पराउँछन् । यिनले प्रयोग गर्ने सामग्री परिवारको अन्य सदस्यको तुलनामा निकै महंगा हुन्छन् । यिनीहरु परिश्रमी हुन्छन् । आफ्नो जिम्मेदारीलाई यिनले कहिले पनि हेलचक्राईं गरी छोड्दैनन् । यिनीहरु ढिलो सफल हुन्छन् तर जब सफल हुन्छन् जो कोहिले पनि यिनको प्रयासको सराहना गर्दछन् । यिनीहरु पनि मंगलबार जन्मने मानिस जस्तै हार्ड वर्क गर्न रुचाउने हुन्छन् । यिनीहरुको प्राय गरी भाग्योदय विवाह पछि हुन्छ । यिनीहरु चाप्लुसी गर्न जान्दैनन् र चाप्लुसी गरेको मन पराउँदैनन् । कहिलेकाँहि यिनीहरु आफ्नो प्रशंसा आफैं गर्न थाल्छन् र समस्यामा पनि पर्दछन् ।

प्रतिक्रिया