शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं ट्राफिकको सफलता: दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद

नेपालखोज २०७७ फागुन २० गते १६:२७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताकासाथ परिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्ता मै खोजतलास गरि बरामद गर्न सफल भएको छ ।

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका वीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुराकी तथा बिशेष सुचना संकलनमार्फत टोली परिचालन गरि ती मोटरसाईकल वरामद गरेको हो । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वगर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

उनले भने, ‘हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।’

महाशाखाले ट्राफिक व्यवस्थापन सँगै मोटरसाइकल चोरी नियन्त्रण तर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य बृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको छ । आज मात्रै करिव ८० लाख बढि मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाईकलहरु सम्बन्धित धनिलाई बुझाएको छ भने यस बर्षमा करिब १६ करोड बढि मुल्य पर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

लामो समयसम्म पार्किङ्ग, एकान्त र अध्याँरो स्थानमा पार्किङ्ग गर्दा र अतिरिक्त लक तथा साईरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाईकल धनी एव चालक स्वयंम होसियार रहनुपर्ने महाशाखाको कथन छ ।

सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ । यसआर्थिक वर्षमा मात्रै हराएका २७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेहिकल एप्लीकेशनमा मा लगईन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया