बिहीबार, चैत १५, २०८०

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपालखोज २०७७ फागुन २० गते १९:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा नेपाल र फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेश फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमती भयो ।

भेटवार्तामा राजदूत लेजेको महासंघ सचिवालयमा स्वागत गर्दे अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरे । अध्यक्ष गोल्छाले कोभिड पछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराए ।

उनले दुवै देशका निजी क्षेत्र बीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए । यसका लागि कुटनीतिक सहयोग महत्वपूर्ण हुने धारणा उनको थियो । राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताए ।

गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनल बीच सहमतीपत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गरे । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउंदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत राजदूत लेजेले व्यक्त गरे ।

प्रतिक्रिया