मंगलबार, मंसिर १८, २०८१

बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने

नेपालखोज २०७७ फागुन २० गते २०:०८

काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली अब वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

१३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ । पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगायत हिमाल आरोहण खुला गरेको भएपनि अहिलेसम्म कसैको पनि आवेदन परेको छैन ।

आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भएपनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताए। अनुमति नलिए पनि कतिपय प्रक्रियामा रहेको र बहराइनका राजपरिवारका सदस्य आउने कुरा जानकारीमा आएको उनले बताए । राजपरिवारका सदस्य आरोहणमा आउँदा यसले नेपालमा सुरक्षित पर्वतारोहण रहेको सन्देश जाने भएकाले महत्त्वपूर्ण हुने उनले बताए ।

गएको वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण स्थगन गरेको थियो । यस वर्ष आरोहण खुला गरेसँगै आठ जना आइसफल डाक्टरहरू बाटो बनाउनका लागि सगरमाथाको आधार शिविरतर्फ गइसकेका पनि निर्देशक आचार्यले बताए । विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविरसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको छ ।

प्रतिक्रिया