बिहीबार, वैशाख ६, २०८१

नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आउँदै

नेपालखोज २०७७ फागुन २१ गते १०:०७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आउँदै छन् ।

बिहीबार सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट महासचिव विप्लव काठमाडौं आउन लागेका हुन् ।

उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंका लागि हिँडेका छन् । विप्लवलाई प्रहरीले सुरक्षा दिएर काठमाडौं ल्याइरहेको छ ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन् ।

शुक्रबार दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नेछन् । साथै प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगत रूपमा रहँदै आएका चन्द करिब दुई वर्षपछि आज सार्वजनिक भएका हुन् ।

सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गरेका थिए । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

त्यही सहमतिको विस्तृत विवरण आज सार्वजनिक गर्न लागिएको हो । सहमतिमा ‘नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय’ समेटिएका थिए । ती सहमतिलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ ।

यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया