बिहीबार, वैशाख १३, २०८१

क्यासिनोमा अवैधरुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ , लाखौं रुपैयाँ बरामद

नेपालखोज २०७७ फागुन २१ गते १४:०७


काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत विहार मोतिहारी घर भएका ३८ वर्षीय रंजित कुमार जैसवाल लगायत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उक्त क्यासिनोमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद आठ लाख २६ हजार नौ सय ८० रुपैयाँ, नौ लाख रुपैयाँ लेखिएको तीन थान बैंक चेक, करिब पाँच लाख ७० हजार रुपैयाँ बराबरको तीन सय ९० वटा क्यासिनो क्याईन, १५ बुक तास, तीन थान ग्रिन गोल्ड र तीन थान प्लाटिनम कार्ड, एक थान पैसा गन्ने मेशिन र एक थान स्लट मिटर रिडिङ बुक समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया