शुक्रबार, चैत १६, २०८०

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४ जना घाइते

नेपालखोज २०७७ फागुन २२ गते २१:२८

दार्चुला । दार्चुलाको जिल्लाको लेकम गाउँपालिका–६ उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी ‍अन्य ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका–६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका शैल्यशिखर–८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सूचना अधिकारी चन्दका अनुसार दुर्घटनामा परी शैल्यशिखर–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेका छन् ।

जीप कच्ची सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया