शुक्रबार, चैत १६, २०८०

नेप्से साढे २१ अंकले घट्यो, मुस्किलले ५ अर्बको कारोबार

नेपालखोज २०७७ फागुन २३ गते १७:०१

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ९० अंकले बढेपछि समग्रमा पछिल्लो दुई साता लगातार घटेको सेयर बजार घट्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ ।

प्रि-ओपन सेसनमा दोहोरो अंकले वृद्धि भएर २५१९.९७ अंकमा खुलेको नेप्से गत बिहीबारको भन्दा २१.५८ अंकले घटेर २४८५.१० अंकमा बन्द भएको छ । फागुन ९ गते आइतबार २६४०.३५ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से इन्ट्रा-डे कारोबारमा फागुन १० गते २६७६.१६ अंकको उचाइमा पुगेको थियो ।

त्यपछि करेक्सन सुरु भएको नेप्से करिब १० प्रतिशतको घटे पनि गत साताको अन्तिम कारोबार दिन ९० अंकको उच्च वृद्धिसँगै लगानीकर्ता पनि सकारात्मक भएका थिए । सोही कारण आजको प्रि-ओपन सेसनमा ४० कम्पनीको सेयर किनबेच हुँदा नेप्से दोहोरो अंकले बढेको थियो । गत साता २५ अंकको विन्दुबाट चल झरे पनि बिहीबार ९० अंकले बढ्दा पुन: २५ अंकमाथि पुगेको नेप्से आज पुन: २५ अंकबाट तल झरेको छ ।

सुरुवाति समयमा बजार परिसूचकमा तीव्र उतारचढाव देखिए पनि साढे १२ बजेपछि लगातार ओरालो लाग्न सुरु हुँदा भएको थियो । गत साताबाट कारोबार रकम क्रमशस् घट्दै गएको बजारमा आज मुस्किलले पाँच अर्बको कारोबार भएको छ । दुई साता अगाडिसम्म नेप्सेमा औसतमा प्रतिदिन आठ अर्बको नजिक कारोबार हुँदै आएको थियो ।

तर गत साता भने नेप्सेमा औसतमा पाँच अर्बको हाराहारीमा मात्रै कारोबार भएको थियो भने आज पनि पाँच अर्बको मात्रै कारोबार भएको छ । आज नेप्सेमा ५३ हजार ९७० पटकको कारोबारमा २११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ लाख ६६ हजारको कारोबार भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) ले लिड गर्दा नेपाल बैंकले फछ्याएको छ ।

निफ्राको ४२ करोड ७८ लाख ४१ हजारको कारोबार हुँदा नेपाल बैंकको ३९ करोड ६९ लाख ९४ हजार, अपर तामाकोसीको २४ करोड २४ लाख, ग्लोबल आईएमई बैंकको १७ करोड १३ लाख ५४ हजार र नेपाल इन्स्योरेन्सको १५ करोड ७६ लाख ६९ हजारको कारोबार भएको छ ।

पर्यटन तथा होटेल र हाइड्रोपावरबाहेक सबै उपसूचक राताम्यै भएका छन् । व्यापार उपसूचक सर्वाधिक ४.६८ प्रतिशतले घट्दा, जीवन बिमा उपसूचक १.८१ प्रतिशत, लगानी उपसूचक १.७८ प्रतिशत, १.५१ प्रतिशतले घटेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.६९ प्रतिशतले घट्दा लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले घटेको छ ।

प्रतिक्रिया